तमु ल्होसार
तमु ल्होसार | |
---|---|
वैकल्पिक नाम | तोला |
अनुयायी | तमु/गुरुङ्ग समुदाय |
प्रकार | नयाँ वर्ष |
मिति | १५ पौष |
तोला अर्थात् तमु ल्होसार तमु/गुरुङ्ग समुदायको महान चाड हो । यसलाई गुरुङ्ग समुदायको नयाँ बर्ष पनि भनिन्छ । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ्ग समुदायमा पनि मनाइन्छ । तमु ल्होसारमा 'तमु' भनेको गुरुङ्ग वा तमू हो भने 'ल्होसार' भनेको नयाँ वर्ष हो । यो पर्व बिकम सम्बत पात्रोको पौष महिनाको १५ गते मनाइन्छ । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ साल सुरु भएको सङ्केत गर्दछ । [१] प्राचीन तमु प्यो शास्त्र अनुसार तमु ल्होसारको दिनममा तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
पूजा विधि
ल्होसारको दिनभन्दा अघिल्लो साँझदेखि नै गुरुङ्ग समुदायमा यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरेर आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै)भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषामा सजिन्छन् । शिरवन्दी, पिरुमाला, मखमली चोली, घलेक, निलो पटुकी, कालो टिकिस, छिट्को गुन्यु र बुट्टेकर्मु (मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, आङमा भोटो,आस्कोट,भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पाखी,पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, ङोलो ङोल्स्यो साथीभाइहरूसँग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र देशका अन्य ठूला व्यक्तित्वहरूद्वारा ल्होसारको शुभकामना आदन प्रदान पनि गर्ने गरिन्छ ।
[२]
देश-विदेशमा तमु ल्होसार
गुरुङ्ग जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् । कास्की,स्याङ्जा गोरखा, लमजुङ, तनहुँ, चितवन, रुपन्देही दैलेख, बाँके, सुर्खेत, मनाङ, रुम्जाटार, खोटाङ काठमाडौँ जस्ता विभिन्न ठाउँमा छरिएर बसेका गुरुङ समुदाय मात्र नभई विश्वभर छरिएर रहेका गुरुङ जातिले यो पर्व धुमधामका साथ मनाउँछन् । बेलायत, अमेरिका अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मनी, भारत लगायत अन्य देशहरूमा पनि गुरूङ्ग जातिको बसोवास रहेको छ ।
तमु पात्रो
तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् ।[३] वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ । यी वर्ग हरेक बाह्र वर्षमा दोहोरिरन्छन् ।
- च्यु-ल्हो
(छुं / मुसा बर्ग ) - ल्वोँ-ल्हो
(सा / गाई बर्ग ) - तो-ल्हो
(धु / बाघ बर्ग ) - हि-ल्हो
(भौ / बिरालो बर्ग ) - मि-ल्हो
(गिद्द वर्ग) - सप्री-लहो
(सर्प वर्ग) - त-ल्हो
(घोडा वर्ग) - ल्हु-ल्हो
(भेडा वर्ग) - प्र-ल्हो
(बाँदर वर्ग) - च्हया-ल्हो
(चरा वर्ग) - खि-ल्हो
(कुकुर वर्ग) - फो-ल्हो
(मृग वर्ग)
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ Nepal, "Tamu Loshar", अन्तिम पहुँच ८ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २०१३ मिति
- ↑ Nepal, "Prime Minister wishes for Tamu Loshar", अन्तिम पहुँच १० जुलाई २०१३।[स्थायी मृत कडी]
- ↑ Nepal, "12 Cycles", अन्तिम पहुँच १८ जुलाई २०१३।[स्थायी मृत कडी]