सूर्यग्रहण
सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ।[१] भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ। जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ।[२] यस घटनालाई सूर्यग्रहण भनिन्छ। सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पर्छ।
पूर्ण ग्रहण
धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ। यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ।[३] कहिले कहीँ मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण-ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ । पूर्ण-ग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । अधिकतम दुई सय पचास (२५०) किलोमिटरको सम्पर्कमा मात्र पूर्ण ग्रहण देख्न सकिन्छ । यस क्षेत्र भन्दा बाहिर खण्डग्रास-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडिबाट जानमा दुई घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई अधिकतम, सात मिनटसम्म पुरा छेक्दछ । यसबखत केही आकाशमा केही समयको अँधेरो हुन जान्छ, या दिनमा रात भएको जस्तै भान हुन्छ ।
ज्योतिष विज्ञानका दृष्टिले सूर्यग्रहण
ग्रहण प्रकृतिको एक सामान्य घटना हो । ज्योतिषका दृष्टिकोणले हेर्ने हो भने अभूतपूर्व, विशिष्ट ज्योतिष ज्ञान, ग्रह र उपग्रहरूको गतिविधि एवं उनीहरूको स्वरूप स्पष्ट गर्दछ । सूर्यग्रहण (सूर्योपराग) सूर्य आंशिक अथवा पूर्ण रूपले चन्द्रमाद्वारा आवृत (व्यवधान / बाधा) भएको बेला पर्दछ । यस प्रकारका ग्रहणको लागि चन्द्रमालाई पृथ्वी र सूर्यको बीचमा आउनु आवश्यक छ । यसमा पृथ्वीमा रहनेहरूलाई सूर्यको आवृत भाग देखिन्न ।
- सूर्यग्रहण हुनाको लागि निम्न कुराहरू पूरा हुनु आवश्यक छ ।
- अमावस्या तिथी हुनु पर्छ।
- चन्दमाको रेखांश राहू या केतुको नजिकै हुनु पर्छ ।
- चन्द्रमाको अक्षांश शून्यका नजिक हुनुपर्छ ।[४]
उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुव जोड्ने रेखाहरूलाई रेखांश भनिन्छ तथा भूमध्य रेखाका चारै तर्फ वृतआाकारमा जाने रेखाहरूलाई अंक्षाशका नामले चिनिन्छ । सूर्यग्रहण सदैव अमावस्यामा नै हुन्छ । जब चन्द्रमा क्षीणतम हुन्छ र सूर्य पूर्ण क्षमता सम्पन्न तथा दीप्त हुन्छ साथै चन्द्र र राहू या केतुको रेखांश निकै निकट हुन्छ, चन्द्रको अक्षांश लगभग शून्य हुन्छ भने तब सूर्यग्रहण पर्दछ । यस्तो त्यसबेला हुन्छ जब चन्द्र रविमार्गमा या रविमार्गको निकट हुन्छ , सूर्यग्रहणका दिन सूर्य र चन्द्रका कोणीय व्यास एक समान हुन्छन् । यस कारण चन्द्र सूर्यलाई केही मिनट मात्रको लागि भए पनि आफ्नो छायाले ढाक्न सक्छ । सूर्यग्रहणका समय जुन क्षेत्र छेकिन्छ त्यसलाई पूर्ण छायाँ क्षेत्र भनिन्छ ।
प्रकार
चन्द्रमाद्वारा सूर्यका किरणहरू पूरै या कम भागलाई छेकिनाले सूर्यग्रहण तीन प्रकारका हुन्छन् जसलाई पूर्ण सूर्यग्रहण, आंशिक सूर्यग्रहण र वलयाकार सूर्यग्रहण भनिन्छ ।
- १. पूर्ण सूर्यग्रहण
पूर्ण सूर्यग्रहण त्यो समयमा हुन्छ जब चन्द्रमा पृथ्वीको निकै नजिक भएर पृथ्वी र सूर्यका बीचमा आउँछ र चन्द्रमाले पूर्ण रूपले पृ्थ्वीलाई आफ्नो छायाँ क्षेत्रमा लिन्छ । यसको फलस्वरूप सूर्यको प्रकाश पृ्थ्वी सम्म पुग्न सक्दैन र पृ्थ्वीमा अन्धकार जस्तो स्थिति उत्पन्न हुन जान्छ । पृथ्वीमा पूरा सूर्य देखिन्न । यस प्रकार बन्ने ग्रहणलाई पूर्ण सूर्यग्रहण भनिन्छ ।
- २. आंशिक सूर्यग्रहण
आंशिक सूर्यग्रहणमा जब चन्द्रमा सूर्य र पृथ्वीका बीचमा यस प्रकार आउँछ कि सूर्यको केही भाग मात्र पृथ्वीबाट देखिन्न अर्थात चन्द्रमा, सूर्यको केवल केही भागलाई मात्र आफ्नो छायामा लिन सक्छ । यसबाट सूर्यको केही भाग ग्रहण ग्रासमा तथा केही भाग ग्रहणबाट अप्रभावित रहन्छ भने पृथ्वीको उस भाग विशेषमा लागेको ग्रहणलाई आंशिक सूर्यग्रहण भनिन्छ ।
- ३. वलयाकार सूर्यग्रहण
वलयाकार सूर्यग्रहणमा जब चन्द्रमा पृथ्वीको धेरै टाढा रहेर पृथ्वी र सूर्यको बीचमा आउँछ अर्थात चन्द्रमाले सूर्यलाई यस प्रकारले छेक्दछ कि सूर्यको मध्य भाग मात्र छाया क्षेत्रमा आउँदछ र पृथ्वीबाट हेर्दा चन्द्रमा द्वारा सूर्य पूरा छेकिएको देखिन्न बरु सूर्यको बाहिरको क्षेत्र प्रकाशित हुनाले कन्गन या वलयको रूपमा चम्किने देखिन्छ । कन्गन आकारमा बनेको सूर्यग्रहणलाई नै वलयाकार सूर्यग्रहण भनिन्छ ।
खगोल शास्त्रीहरूको गणना
खगोल शास्त्रिहरूले गणितबाट के निश्चित गरेका छन् भने १८ वर्ष १८ दिनको समयावधिमा ४१ सूर्यग्रहण र २९ चन्द्रग्रहण हुन्छन् । एक वर्षमा ५ सूर्यग्रहण तथा २ चन्द्रग्रहण सम्म हुन सक्छन् । त तैपनि एक वर्षमा २ सूर्यग्रहण त हुनै पर्छ । यदि कुनै वर्ष २ मात्र ग्रहण भए भने ती दुवै सूर्यग्रहण हुन्छन् । यद्यपि वर्षभरमा ७ ग्रहण सम्म संभाव्य छन्, तथापि ४ भन्दा अधिक ग्रहण धेरै कम मात्रामा देख्न पाइन्छ । प्रत्येक ग्रहण १८ वर्ष ११ दिन बीतेपछी पुन: हुन्छ । तर त्यो आफ्नो पहिलेको स्थानमा हुन्छ भन्ने निश्चित छैन, किनकी सम्पात बिन्दु निरन्तर चलिरहेका छन् ।
साधारणतया सूर्यग्रहणको अपेक्षा चन्द्रग्रहण अधिक देखिन्छन्, तर साँचो कुरा के हो भने चन्द्र ग्रहण भन्दा कैयौँ अधिक सूर्यग्रहण हुन्छन् । ३ चन्द्रग्रहणमा ४ सूर्यग्रहणको अनुपात आउँछ । चन्द्रग्रहणहरू अधिक देखिनाको कारण के हो भने यिनीहरू पृ्थ्वीको आधा भन्दा अधिक भागमा देखिन्छन्, तर सूर्यग्रहण पृ्थ्वीको धेरै ठुलो भागमा प्राय सय माइल भन्दा कम चाक्लो र दुई देखी तीन हजार माइल लामो भूभागमा देखिन्छन् । उदाहरणको लागि यदि भारतको मध्य प्रदेशमा खग्रास (सम्पूर्ण सूर्य बिम्बलाई छेक्ने खालको) ग्रहण छ भने गुजरातमा खण्डग्रास सूर्यग्रहण (सूर्य बिम्बका केही अंशलाई मात्र छेक्ने) मात्र दिखिन्छ भने उत्तर भारत र नेपालमा त त्यो देखिंदै दिखिन्न ।
वैज्ञानिक दृष्टिकोणमा सूर्यग्रहण
चाहे ग्रहणको कुनै आध्यात्मिक महत्त्व होस् अथवा न होस् तर विश्व भरीका वैज्ञानिकहरूका लागि यो अवसर कुनै उत्सव भन्दा कम हुँदैन । किन भने ग्रहण नै त्यस्तो समय हुन्छ जब ब्राह्मण्डमा अनेकौँ विलक्षण एवं अद्भुत घटनाहरू घटित हुन्छन् जसबाट वैज्ञानिकहरूलाई नयाँ नयाँ तथ्यहरूमा कार्य गर्ने अवसर मिल्दछ । सन् १९६८ मा लार्कयर नामक वैज्ञानिकले सूर्यग्रहणको अवसरमा गरिएको खोजका सहाराले वायू मण्डलमा हिलियम ग्याँसको उपस्थितिको पत्ता लगाएका थिए । आईन्स्टीनको यो प्रतिपादन पनि सूर्यग्रहणको अवसरमा नै प्रमाणित हुन सक्यो, जसमा उनले अन्य पिण्डहरूको गुरुत्वकर्षणबाट प्रकाश पर्ने कुरा भनेका थिए । चन्द्रग्रहण त आफ्नो सम्पूर्ण तत्कालीन प्रकाश क्षेत्रमा हेर्न सकिन्छ तर सूर्यग्रहण अधिकतम १० हजार किलोमीटर लामो र २५० किलोमीटर चाक्लो क्षेत्रमा मात्र हेर्न सकिन्छ । सम्पूर्ण सूर्यग्रहणको वास्तविक अवधि धेरै भन्दा धेरै ११ मिनट मात्र हुन सक्छ त्यो भन्दा धेरै हुन्न । संसारका समस्त पदार्थहरूको संरचना सूर्य रश्मिको माध्यमबाट नै सम्भव छ । यदि सही प्रकारले सूर्य र उसका रश्मिहरूको प्रभावलाई बुझ्ने हो भने समस्त धरामा आश्चर्यजनक परिणाम ल्याउन सकिन्छ । सूर्यका प्रत्येक रश्मिले विशेष अणुको प्रतिनिधित्व गर्दछन् । स्पष्टै छ, प्रत्येक पदार्थ कुनै विशेष परमाणुबाट नै निर्मित हुन्छ । यदि सूर्यका रश्मिहरूलाई सङ्कलन गरेर एक विशेष बिन्दुमा केन्द्रित गर्ने हो भने पदार्थ परिवर्तनको क्रिया पनि सम्भव हुन सक्छ ।
वैदिक काल र सूर्यग्रहण
वैदिक काल भन्दा पहिले पनि खगोलीय संरचनामा आधारित कलैन्डर बनाउनाको आवश्कता अनुभव गरियो । सूर्यग्रहण चन्द्र ग्रहण तथा उनको पुनरावृत्तिको पूर्व सूचना ईसा भन्दा चार हजार वर्ष पहिले नै उपलब्ध थियो । ऋग्वेदका अनुसार अत्रिमुनिका परिवारसँग यो ज्ञान उपलब्ध थियो । वेदाङ्ग ज्योतिषको महत्त्व हाम्रा वैदिक पूर्वजहरूको यस महान ज्ञानलाई प्रतिविम्बित गर्दछ ।
ग्रह र नक्षत्रहरूका संसारको यो घटना हिन्दू मनीषिहरूलाई अत्यन्त प्राचीन कालबाट नै ज्ञात रहेको छ । चिर प्राचीन कालमा महर्षिहरूले गणना गरेका थिए । यसमा धार्मिक, वैदिक, वैचारिक, वैज्ञानिक विवेचन धार्मिक एवं ज्योतिषीय ग्रन्थहरूमा हुँदै आएको छ महर्षि अत्रिमुनि ग्रहणका ज्ञान दिने प्रथम आचार्य थिए । ऋग्वेदीय प्रकाश काल अर्थात वैदिक कालबाट ग्रहणमा अध्ययन, मनन र परीक्षण हुँदै आएको छ ।
सूर्यग्रहणको सम्बन्धमा ऋषि-मुनियहरूका कथन
ऋषि-मुनिहरूले सूर्यग्रहण लागेको समयमा भोजन गर्न न हुने भनेका छन्, किन भने उनको मान्यता अनुसार ग्रहणको समयमा कीटाणुहरू बहुल्यताले फैलिन्छन् । खाद्य वस्तु, पानी आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर दूषित गर्दछन् । यसैले ऋषिहरूले भाँडाहरूमा कुश राख्नु पर्छ भनेका छन्, यसो गर्दा सबै कीटाणुहरू कुशमा एकत्रित हुन्छन् र उनलाई ग्रहण पछि फाल्न सकिन्छ । भाँडहरूमा अग्नि हालेकर पवित्र बनाइन्छ यसो गर्नाले कीटाणु मर्छन् । ग्रहण पछि स्नान गर्नाको विधान बनाइएको छ स्नान गर्नेबेला शरीर भित्र ऊष्माको प्रवाह बढेर, भीत्र-बाहिरका कीटाणुहरू नष्ट हुन्छन् ।
पुराणहरूको मान्यता अनुसार राहु चन्द्रमालाई तथा केतु सूर्यलाई ग्रस्दछ । यि दुवै छायाँका सन्तान हुन् । चन्द्रमा र सूर्यको छाँयाका साथ-साथै जान्छन् । चन्द्र ग्रहणको समयमा कफको प्रधानता बढ्दछ र मनको शक्ति क्षीण हुन्छ, त्यस्तै सूर्यग्रहणको समयमा जठराग्नि, नेत्र तथा पित्तको शक्ति कमजोर पर्दछ । गर्भवती स्त्रीलाई सूर्य-चन्द्र ग्रहण हेर्न हुन्न, किन भने उसका दुष्प्रभावले शिशु अङ्गहीन भएर अपाङ्ग बन्न सक्छ, गर्भपातको सम्भावना बढ्न जान्छ । यसको लागि गर्भवतीको उदर भागमा गोबर र तुलसीको लेप लगाइन्छ, यसो गर्नाले राहु-केतु उसलाई स्पर्श गर्दैनन् । ग्रहणको समयमा गर्भवती महिलालाई कुनै पनि चिज कैँची या चक्कुले काट्न रोकिन्छ र कुनै वस्त्रादि सिउनबाट पनि रोकिन्छ । किन भने यस्तो गर्नाले शिशुका अङ्गहरू या त काटिन्छन् या सिल एक अर्कोमा जोडिन्छन् भन्ने मान्यता छ ।
ग्रहण लाग्नु भन्दा पहिले नदी वा घरमा उपलब्ध जलले स्नान गरेर भगवानको पूजन, यज्ञ, जप गर्नु पर्छ। भजन-कीर्तन गरेर ग्रहणको समयलाई सदुपयोग गर्नुपर्छ । ग्रहणको समयमा कुनै कार्य न गर्नु । ग्रहणको समयमा मन्त्रको जप गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ । ग्रहणको अवधिमा तेल लगाउनु, भोजन गर्नु, जल पिउनु, मल-मूत्र त्याग गर्नु, कपाल कोर्नु, रति-क्रीडा गर्नु, दाँत माँझ्नु वर्जित गरिएको छ । केही मान्छेहरू ग्रहणको समयमा पनि स्नान गर्दछन् । ग्रहण समाप्त भए पछि स्नान गरेर ब्राह्मणलाई दान दिने विधान छ । कतै-कतै वस्त्र, भाँडा आदी धुने नियम पनि छ । पुरानो पानी, पुरानो अन्न नष्ट गरेर नयाँ भोजन पकाउनु पर्छ । ताजा पानी भरेर पिउनु पर्छ । ग्रहण पछि शुद्रलाई दान दिनाको अधिक माहात्म्य बताइएको छ, किनकी शुद्रलाई राहु-केतुको स्वरूप मानिन्छ ।
सूर्यग्रहणमा ग्रहण भन्दा चार प्रहर पहिले र चन्द्र ग्रहणमा तीन प्रहर पहिले भोजन गर्न हुन्न। वृद्ध बालक र रोगी एक प्रहर पहिले सम्म खान सक्छन् ग्रहण पूरा भए पछि सूर्य वा चन्द्र, जसको ग्रहण होस्, ग्रहणका दिन पात, सिनका, दाउरा और फूल बटुल्न हुन्न । कपाल तथा वस्त्र निचोर्नु हुन्न र दन्त धावन गर्नु हुन्न । ग्रहणको समयमा सुत्न, मल मूत्र त्याग गर्न, मैथुन आदि गर्न र भोजन गर्न - यि सबै कार्य वर्जित छन् । ग्रहणको समयमा मनमा सत्पात्रलाई उद्देश्य गरेर जलमा जल हाल्नु पर्छ । यस्तो गर्नाले दिनेलाई उसको फल प्राप्त हुन्छ र लिनेलाई उसको दोष पनि लाग्दैन । ग्रहणको समयमा गाईलाई घाँस, पक्षिहरूलाई अन्न, जरुरतमन्दहरूलाई वस्त्र दानले अनेक गुणा पुण्य प्राप्त हुन्छ । देवी भागवतमा भूकम्प एवं ग्रहणको अवसरमा पृथ्वीलाई खनन गर्नु हुन्न भनिएको छ । [५]
सन्दर्भ
- ↑ डा. प्रेमराज ढुंगेल, "सूर्य ग्रहणमाथि केही प्रकाश", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९।
- ↑ "सूर्यग्रहण कसरी लाग्छ ? के गर्ने, के नगर्ने ?", सिआइएन (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९।
- ↑ "ग्रहण के हो ? के छ यसको महत्त्व ?", सेतो घर (नेपालीमा), अन्तिम पहुँच २१ असोज २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-२५ मिति
- ↑ "सूर्यग्रहण कब, क्यों और कैसे ?" (ए.एस.पी) (हिन्दीमा), सूर्यग्रहण।
- ↑ "ग्रहण विधि निषेध" (एच.टी.एम.एल) (हिन्दीमा), ज्योतिष की सार्थकता।