विष्णुका अवतारका रूपमा बुद्ध - दुर्इ शिष्यका बीचमा धर्मचक्र प्रवर्तन गर्दै
भगवान विष्णुको नवौँ अवतार बुद्ध
विष्णुको दश अवतार मध्ये उत्तर भारतीय हिन्दु परम्परामा बुद्धलाई नवौँ अवतारको रूपमा (दक्षिण भारतमा बुद्धको सट्टा बलरामलाई राखिन्छ) चित्रित गरिएको छ । यसरी बौद्ध दर्शनका प्रवर्तक भगवान बुद्धलाई विष्णुको अवतारको रूपमा स्थान दिनुले सतही रूपमा हिन्दु बौद्धहरूको धार्मिक सहिष्णुतालाई टेवा पुर्याएको देखिन्छ । तर ती पुराणहरूमा बुद्धलाई जुन रूपमा प्रस्तुत गरिएको छ त्यो बुझ्ने हो भने ती मिथकहरूमा 'बुद्ध' भनिएका पात्र र इ.पू ६ आैं शताब्दिमा लुम्विनीमा जन्मेका सिद्धार्थ गौतम एकै ब्यक्ति हुन भन्न गाह्रो छ । यदि गौतम बुद्धलाई नै प्रस्तुत गरिएको हो भने ती पुराणका कथनहरू दुर्इ परम्परा बीच चलेको तत्कालीन द्वन्दको उपजमात्र हुन भन्न सकिन्छ । बुद्धका उपदेशहरू अनिश्वरवादी, अनात्मवादी भएकाले बुद्ध शिक्षा वैदिक परम्परा भन्दा पृथक छ । त्यसैकारणले हिन्दु दार्शनिकहरूले बौद्ध दर्शनलाई नास्तिक धर्ममा वर्गीकृत गरिएको छ ।
भगवान बुद्ध विष्णुका अवतार हुन् भन्ने पौराणिक उल्लेखहरूको आधार लिर्इ हिन्दु-बौद्ध एकताका लागि कैयन अभियानहरू चलेका छन् ।[१] तर यस सम्वन्धी केहिं गहिराइमा अध्ययन गर्ने हो भने यस आधार कतिको बलियो छ भन्ने बुझ्न सकिन्छ । यस सम्वन्धी निम्न कुराहरू विचारणीय छन् ।[२]
विष्णु अवतारका रूपमा बुद्ध - एेरावतेश्वर मन्दिर पुनः पुन जन्म हुने बुद्ध ? बिष्णुको अवतार भनिएका बुद्ध यस पृथ्वीमा बारम्बार जन्म लिने खालको हो । बुद्ध अवतार पछि भगवान विष्णुले कल्कि अवतारको रूपमा जन्म लिए । यतिमात्र नभर्इ जव जव धर्मको हानी हुन्छ तव तव त्यसलाई पुनः संस्थापन गर्न बारम्बार जन्म लिन आउँछु भनि विष्णुले भेनेका छन् । जव कि शाक्यमुनी गौतम शुद्दोदनको राजकुलमा जन्म भर्इ संसारको विद्यमान दुःख देखी वैराग्य उत्पन्न गरी गृहत्याग गरे । आफ्नो अथक परिश्रमले विलुप्त भइसकेको विपश्यना ज्ञानलाई पुनर्जिवित गरी पुनर्जन्म हुन दिने सबै प्रकारका कर्म संस्कार तथा क्लेशलाई पूर्णरूपमा निर्मूल पारी भवसंसरणबाट सँधैका लागि विमुक्त भएका थिए । सम्येकसंबुद्धत्व प्राप्त हुनासाथ “अयं अन्तिमा जाति” (यो मेरो अन्तिम जम्न हो । ) “नत्थिदानिपुनब्भवोति” (अब मेरो पुनर्जन्म हुने छैन।) भनी उद्घोषण गरेका थिए । “पुनः पुनः जन्म लिन्छु” भन्ने र “यो मेरो अन्तिम जम्न हो” भन्ने यी दुर्इ पात्र एकै ब्यक्ति हुन् भन्नु कदापि विवेकपूर्ण देखिंदैन । यी पुराणहरूमा गरिएको यस प्रकारको विरोधाभास पूर्ण प्रस्तुति यदि सत्य हो भने बुद्धको भवविमुक्तिप्रदायिनी (संसारचक्रबाट मुक्त हुने) शिक्षा मिथ्थ्या सावित हुन जान्छ ।
मायामोहका अवतारः विष्णु पुराण अनुसार बुद्ध अवतार विष्णुका सद् गुणका अवतार नभर्इ दुर्गुणका अवतार हुन् । उनी विष्णुमा भएको दुर्गुण ‘मायामोह’ का अवतार थिए । उनको पृथ्वीमा अवतरणको उद्देश्य आफ्नो वाक् चातुर्यको माध्यमवाट असुर जातिका जनतालाई अवैदिक धर्म सिकाई वैदिक कर्मकाण्डबाट विमुख वनाई सद् गतिको बाटो बन्द गरिदिनु हो । तत्पश्चात् ती दैत्यहरूलाई वध गर्न सकिने भएकोले इन्द्र लगायत देवताहरूको स्वर्गको राज्य सुरक्षित हुन्छ । यसरी विष्णुको यस अवतारमा बुद्धलाई एक छलगर्ने धुर्त गुरूका रूपमा चित्रित गरिएको छ ।
बुद्ध र बौद्हरूको संहार गर्न कल्कि अवतारः कल्किपुराण अनुसार भगवान बिष्णुको दशौँ अवतारका रूपमा कल्किको अवतरण हुन्छ । कल्किले शुन्यवादी बौद्धहरूसँग युद्ध गरी बौद्धहरूको सफाया गर्नेछ जुन युद्धमा सबै बौद्धहरू, जिन (बुद्धको अर्को नाम), शुद्दोदन र महामाया आदि सबैको वध गरी विजय हासिल गर्दछ ।
यस प्रकारको बौद्ध विरोधी पौराणिक साहित्यमा आधारित अवतारवादले कथित धार्मिक सहिष्णुतालाई टेवा दिँदैन । यी साहित्यहरू तत्कालीन शत्रुता र द्वन्दका उपजहरू हुन् । यसलाई आजका धार्मिक सहिष्णुता प्रेमी जनताहरूले ती मिथकहरू मिथ्थ्या हुन भनी बुझी सत्य र मानवताका आधारमा परस्पर मैत्री भाव कायम गरी वस्नु उपयुक्त हुन्छ ।[२]
बुद्ध अवतार सम्वन्धी पौराणिक उद्धरणहरू
विष्णु पुराण
बुद्धलाई बिष्णुको अवतारको रूपमा प्रस्तुत गर्ने काम सर्वप्रथम बिष्णु पुराणबाट शुरूवाट भएको देखिन्छ । यसमा रचिएको कथा यस प्रकार छ । देवता र दैत्यहरूको संग्राममा देवताहरू पराजित हुन्छ । तत्पश्चात् देवताहरू भगवान विष्णुकहाँ पुग्दछन् । आफ्नो समस्या ब्यक्त गर्नु पूर्व तिनीहरूले विष्णुको गुणको वखान गरी स्तुति गर्दछ । तत्पश्चात् भगवान विष्णुको दुर्गुणहरूको पनि वखान गरी स्तुति गर्दछ ।
दंभप्रायम् असंबोधि, तितिक्षा दमवर्जितम् ।
यद् रूपे तव गोविन्द, तस्मै दैत्यात्मने नमः ।
(अर्थः हे गोविन्द, तपाईको जुन दंभी स्वरूप छ, संबोधिविहिन स्वरूप छ, सहिष्णुताविहिन, संयमविहिन दैत्य स्वरूप छ त्यसलाई हामी प्रणाम गर्दछौं ।)
क्रौर्मं मायामयं घोरं, यच्चरूपं तवासितम् ।
निशाचरात्मने तस्मै, नमस्ते पुरूषोत्तम ।।
(अर्थः हे पुरूषोत्तम ! तपाईको क्रुरतापूर्ण, भयंकर मायामय र तमोमय रूप छ, त्यसलाई हामी नमस्कार गर्छौं ।)
यस प्रकारको स्तुति पश्चात् देवताहरूले विष्णुको सामु आफ्ना समस्याहरू निम्नानुसार प्रस्तुत गरे ।
स्ववर्ण धर्माभिरता, वेदमार्गानुसारिणः ।
नशक्यास्तेरयो, हंतुमस्माभिस्तपसावृताः ।।
(अर्थः यी जो हाम्रो शत्रु छन्, उनीहरू वेदधर्मका अनुशरण गर्छन्, वर्ण धर्मको पालना गर्छन् र तपोनिष्ट छन् । त्यसै कारणले हामी उनीहरूलाई वध गर्न असमर्थ भयौं । )
इत्युक्तो भगवांस्तेभ्यो, मायामोह शरीरतः ।
समुत्पाय ददौ विष्णु, प्राह चेदं सुरोत्तमान् ।।
(अर्थः उनीहरूको प्रार्थना सुनी भगवान विष्णुले आफ्नो देहवाट मायामोहको उत्पति गराई देवताहरूलाई दिए र भने)
मायामोहोखिलान्दैत्यास्तान्वोहयिस्यति ।
ततो वध्याभविष्यन्ति, वेदमार्गवहिष्कृता ।।
(अर्थः यो मायामोह सबै दैत्यहरूलाई मोहित गरिदिनेछ । त्यसपछि तिनीहरूले वेदमार्गलाई त्याग गर्नेछ । जसले गर्दा तिमीहरूले उनीहरूको वध गर्न समर्थ हुन्छौ । )
तद्गच्छत न भीः कार्या, मायामोहोयमग्रतः ।
गच्छन्तद्योपकाराय, भवतां भविता सुराः ।।
(अर्थः त्यसैले हे देवताहरू ! अव तिमीहरू जाउ । भय त्याग गर । यो मायामोह त्यहाँ जान्छ र तिमीहरूको उपकार गर्छ । )
नानाप्रकार वचनं स, तेषां युक्तियोजितं ।
या तथा त्रयीधर्म, तस्य जुस्ते यथायथा ।।
(अर्थः नाना प्रकारका युक्तिपूर्ण वचनमा फसाई मायामोहले असुरहरूका त्रयी धर्म (वैदिक धर्म) छुटाई दिए । )
भगवान बुद्धको दुर्गुण स्वरूपका यस बुद्ध अवतारलाई अन्य पुराणहरूमा पनि दोहर्याइएको पाइन्छ जसले बुद्ध र उनको शिक्षा प्रति हीनभाव पुष्ट हुँदै जान्छ ।
अग्नी पुराण
वक्षे बुद्धावतारं च, पठतः श्रृण्वतोर्थदम् ।
पुरा देवासुरा युद्धे, दैत्यैर्देवाः पराजिताः ।।
(अर्थः अव म बुद्धावतारको वर्णन गर्दछु, यो जसले पढ्छ र सुन्छ उसको मनोरथ पूर्ण हुन्छ । पूर्वकालमा सुर र असुरहरूको युद्ध भयो जसमा दैत्यहरूले देवताहरूलाई पराजित गरे ।)
मायामोहस्वरूपोसौ, शुद्धोदनसुतोभवत् ।
भगवान मायामोह रूपमा आर्इ शुद्धोदनको पुत्र भए ।
मत्स्यपुराणम्
कर्तुं धर्मब्यवस्थानमसुराणां प्रणाशनम् ।
बुद्धो नवमको जज्ञे तपसा पुष्करेक्षण ।
देवसुन्दररूपेण द्वैपायनपुरः सरः ।। २४६ ।।
(अर्थः धर्मको ब्यवस्थापन तथा असुरहरूको संहार गर्नाका लागि कमलनयन, देवसुन्दर बुद्धको जन्म नवौँ अवतारका रूपमा भयो । )
पद्ममहापुराणम्
समुत्पाद्यददौतस्याप्राहचेदंवृहस्पतिम् ।
मायामोहोयमखिलांस्तान्दैत्यान्मोहयिष्यति ।।
(मायामोहले सारा दैत्यहरूलाई मोहित पार्दै लान्छ भनी वृहस्पतिले भने । )
भवतासहितः सर्वान्वेदमार्गबहिष्कृतान् ।
सवै दैत्यहरू वेदमार्गबाट वहिष्कृत हुनेछ ।
श्रीमद्भागवतमहापुराणम्
प्रथम खण्ड, प्रथमस्कण्ध, अध्याय ३ पृ ५६
ततः कलौ सम्प्रवृत्ते सम्मोहाय सुरद्विषाम् ।
बुद्धो नाम्नाजनसुतः कीकटेषु भविष्यति ।। २४ ।।
त्यस पछि कलियुग शुरू भएपछि मगधदेश (विहार) मा देवताहरूका शत्रु दैत्यहरूलाई मोहित गर्नका लागि अजनका पुत्रका रूपमा तपाईंको बुद्धावतार हुनेछ ।
द्वितीयखण्ड, दशमस्कंधे, अध्याय - ४०, पृ ३७६
नमो बुद्धाय शुद्धाय दैत्यदानवमोहिने ।
दैत्य दानवहरूलाई मोहित गर्नका लागि तपाईं शुद्ध अहिंसा मार्गको प्रवर्तक बुद्धको रूप ग्रहण गर्नु हुन्छ । म तपाईंको नमस्कार गर्दछु ।
भविष्य पुराण
(प्रतिसर्ग पर्व ४, अं.२०)
बलिना प्रेषितो भूमौ, मयः प्राप्तो महासुरः ।
शाक्यसिंह गुरूर्गेयो, बहुमाया प्रवर्तकः ।।३०।।
स नाम्ना गौतमाचार्या, दैत्य पक्ष विवर्धकः ।
सर्व तीर्थेषु तेनेव, यन्त्राणि स्थापितानि वै ।।३१।।
तेषामधोगता येतु, बौद्धाश्चासंसमन्ततः ।
शिखा सुत्र विहीनाश्च, बभूवूर्वर्णसंकरा ।।३१।।
दश कोट्य स्मृता आर्या, बूभबुर्बौद्ध मार्गिणः ।।
(अर्थ - बलिले पृथ्वीमा एक माया प्रवर्तक महान् असुरलाई पठायो जो शाक्यसिंह नामले प्रख्यात भयो, जसलाई गौतम आचार्य पनि भनिन्थ्यो । उनी दैत्यहरूको पक्ष वढाउने ब्यक्ति थिए । उनले सबै तीर्थहरूमा आफ्नो संस्था स्थापित गरे । जो जो उनका मतानुयायी भइ बौद्ध भए ती सबै टुपी र जनै छोडी नीच गतिमा गर्इ वर्णसंकर भए । दश करोड आर्य बौद्धमार्गका अनुगामी भए।)
यथा हि चोरः स तथा हि बुद्धस्तथागतं नास्तिकमत्र विद्धि ।
तस्माद्धि यः शक्यतमः प्रजानां स नास्तिके नाभिमुखा बुधः स्यात ।।
(अर्थ - जसरी चोर दण्डनीय हुन्छ त्यसरी नै (वेदविरोधी) बुद्ध पनि दण्डनीय छ । तथागत र अन्य नास्तिकहरूलाई पनि यहाँ यहि कोटिमा सम्झनु पर्दछ । त्यसकारण प्रजापालक राजाले जुन नास्तिकलाई दण्ड दिन्छ त्यसलाई चोरलाई समान दण्ड दिनु पर्छ । तर जो वशमा लिन सकेको छैन, त्यता नास्तिकका सन्मुखमा कोहि पनि विद्वान् ब्राम्हण नपरून्, उनीहरू सँग कोहिं पनि वार्तालाप नगरून् । )
कल्किपुराणम्
द्वितीयांश, षष्ठोअध्यायः
बुद्धालयं सविपुलं वेदधर्म्मबहिष्कृतम् ।
(यो अत्यन्त विस्तृत नगर हो बौद्धहरूको प्रधान आलय हो । यस देशमा वैदिक धर्मलाई वहिष्कार गरिएको छ ।)
श्रुत्वा जिनो निजगणैः कल्केरागमनं क्रुधा ।
अक्षौहिणीभ्यां सहितः संबभूव पुराद्बिहि ।।४४।।
(कल्कि आफ्नो गण सहित युद्ध गर्न आएको कुरा जव जिन (बुद्धको अर्को नाम) थाहा पाउँदछ तव उनी दुर्इ अक्षौहिणी सेना (एक अक्षौहिणीमा २१८७० हात्ती, २१८७० रथ, ६५६१० घोडा र १०९३५० पैदल सिपाहि हुन्छ।) लिर्इ नगरबाट बाहिर आउँदछ ।)
द्वितीयांश, सप्तमोअध्यायः
रे बौद्धा ! मा पलायध्वं निवर्त्तध्वं रणाङ्गणे ।
(हे बौद्धहरू ! तिमीहरू रणभूमिबाट नभाग, फिर्ता आउ, युद्ध गर ।)
जिनं निपतितं दृष्ट्वा बौद्धा हाहेति चुक्रुशुः ।
कल्के सेनागण विप्रा जहृषुर्निहतारयः ।।२७।।
(जिन धराशायी भएको देखी बौद्धहरूको सेना हाहाकार गर्न थाले । शत्रुको मृत्यु भएकोले कल्किका सेनाको हर्षको सीमा रहेन ।)
स तु शुद्धोदनस्तेन युयुधे भीमविक्रमः । ...
(भीमविक्रम शुद्धोदनले पनि उ सँग युद्ध गर्न थाले । ...)
निरीक्ष्य कल्किं ते बौद्धास्त्रसुर्धर्म्मनिन्दका ।।५०।।
(...धर्मको निन्दा गर्ने बौद्धहरू भयले ब्याकुल भयो । )
(यस प्रकार भयंकर कर्म गर्ने कल्किले भयंकर युद्ध गरी बौद्धहरू र म्लेच्छहरूको संघको नाश गर्यो । अनि कल्किले उनीहरूका स्त्रीहरूलाई पनि मुक्तिपद दिए । मृत बौद्ध र म्लेच्छहरूलाई ज्योतिर्मय स्थानमा पठाई शोभायमान गरे ।)
ये शृण्वन्ति वदन्ती बौद्धनिधनं म्लेच्छक्षयं,
सादराल्लोकाः शोकहरं सदा शुभकरं भक्तिप्रदं माधवे ।
तषामेव पुनर्न जन्ममरणं सर्ब्बार्थसम्पत्करं ।
मायामोहविनाशनं प्रतिदिनं संसारतापच्छिदम् ।। ४४ ।।
(यस म्लेच्छ र बौद्धहरूको नाश भएको कथा जसले आदरपूर्वक पढ्छ र सुन्छ, उसको सबै शोक हट्दछ । माधव प्रति उसको भक्ति उत्पन्न हुन्छ । यसले उसको न जम्न हुन्छ न मृत्यु हुन्छ । यस वृतान्तको सुन्ने मानिसलाई सबै प्रकारको सम्पत्ति प्राप्त हुन्छ । मायामोह हट्दै जान्छ र संसारको तापहरू सहनु नपर्ने हुन्छ ।)
(जसले साधु समाजमा, पुण्यक्षेत्रमा, पुण्य तीर्थमा गर्इ महर्षिहरूको आश्रममा गर्इ वस्त्र, आभूषण आदि दान गरी ब्राम्हणहरूको पूजा गर्छ, आदरपूर्वक गाई, घोडा, हात्ती, सुन आदि दान गरी भक्तिपूर्वक विष्णुभावले पूर्ण भर्इ सबै पुराणका सार यस शुद्ध कल्किपुराणको कीर्तन वा श्रवण गर्दछ, यी श्रेष्ठ ब्यक्तिहरूको मुक्ति निश्चित छ, यसमा कुनै सन्देह छैन ।)
बौद्धमतलाई हिन्दु (वैष्णव) धारमा विलय गराउनेः जर्मन विद्वान् हेलमुट भो ग्लेजनपको भनाई - यस प्रकारको साहित्यहरूको रचना हुनुको पछाडी बौद्धहरूलाई विस्तारै हिन्दु (वैष्णव) धारमा विलय गराउने अन्तरनिहित मनोवाञ्छा देखिन्छ ।[६]
बुद्ध अवतारका बुद्ध र शाक्यमुनि बुद्ध एकै होइनन्ः बुद्ध अवतारका बुद्ध र शाक्यमुनि बुद्धको समयकाल फरक छ । करिव इ.सं. ५०० तिर जन्मेको, ६४ वर्ष बाचेका, जीवनकालमा केही दानवहरूको वध गरेका, वैदिक धर्म मान्ने, जिन नाम ब्यक्ति पिता भएका आदि वर्णनलाई हेर्ने हो भने बुद्ध अवतारमा चित्रित गरिएका ब्यक्ति सिद्धार्थ गौतम होइनन् ।[७]
हिन्दु दार्शनिकहरू बुद्धलाई आफ्नो धर्म भित्र समाहित गर्न चाहँदैनन्ःकुमारील भट्ट (इ.सं. ७०० तिर - मिमांशधारका हिन्दु दार्शनिक) बुद्धलाई हिन्दु धर्म सँग जोड्न स्वीकार गर्दैनन् । क्षेत्रीय धर्मको उलंधन गरी आफै धर्म गुरू बन्न खोजेका, वेदका विपरित र आफैले आफैलाई ठगेका ब्यक्तिका रूपमा बुद्धका वारे उनले टिप्पणी गरेका छन् ।[८]
दलित अभियानका पाचौँ सपथः डा. भिमराव अम्वेडकर बुद्ध विष्णुको अवतार हो भन्ने कुरालाई प्रखररूपमा खण्डन गर्ने ब्यक्ति हुन् । महान् दलित अभियानका क्रममा धर्म परिवर्तनका लागि २२ सपथहरू मध्ये पाचौँ यस प्रकार छ - "मैं यह नहीं मानता और न कभी मानूंगा कि भगवान बुद्ध विष्णु के अवतार थे, मैं इसे पागलपन और झूठा प्रचार-प्रसार मानता हूँ ।"[९]
काँचीका शंकराचार्य र विपश्यनाचार्य सत्यनारायण गोयन्काको संयुक्त विज्ञप्ति
(हिन्दि भाषामा प्रकाशित प्रेस विज्ञप्तिको नेपाली अनुवाद),
जगद् गुरू काँची कामकोटि पीठका श्रद्धेय शंकराचार्य श्री जयन्द्र सरस्वतीजी र विपश्यनाचार्य गुरूजी सत्यनारायण गोेयन्काका सौहार्दपूर्ण वार्तालापको संयुक्त विज्ञप्ति प्रकाशित गरिएको छ । दुबै यस कुरामा सहमत छन् र चाहन्छन् कि दुबै प्राचीन परम्पराहरूमा अत्यन्त स्नेहपूर्वक वातावरणा स्थापित हुन् । यस वारेमा जुन छिमेकी देशका वन्धुहरूमा कुनै कारणले कुनै प्रकारको गलत बुझाइ रहेको भए त्यसको शीध्रातिशीध्र निराकरण होस् । यस सम्वन्धमा निम्न कुराहरूमा सहमती भएको छ ।
कुनै पनि कारणले पूर्वकालमा पारस्परिक मतभेदहरू भएको उपजका रूपमा जस्तो सुकै साहित्यहरू निर्माण भए, जसमा भगवान बुद्धलाई विष्णुको अवतार भनी लेखिए, यो कुरा छिमेकी देशका बन्धुलाई अप्रिय लाग्यो यो हामी राम्ररी बुझ्छौं । त्यसकारण दुबै समुदाय बीच पारस्परिक सम्वन्धमा पुनः स्नेहपूर्वक वनाउनका लागि हामी यो निर्णय लिन्छौं कि भूतकालमा जे सुकै भएको भएतापनि त्यसलाई भुली अव आइन्दा यस प्रकारको कुनैपनि मान्यतालाई वढावा दिनु हुँदैन ।
भारतका हिन्दु समुदाय बुद्धानुयायीहरू माथि आफ्नो वर्चश्व स्थापित गर्नाका लागि यस प्रकारको कार्यशालाहरू आयोजना गरिरहेका छन् भनी छिमेकी देशहरूमा भ्रान्ति फैलिरहेको छ । यस प्रकारको कुरा उनीहरूको मनबाट सदाको लागि हटेर जाओस् भन्ने उद्देश्यले वैदिक र बुद्ध-श्रमण परम्परा भारतको अन्यन्त प्राचीन मान्य परम्पराहरू मध्येका हुन् भनी प्रज्ञापित गर्दछौं । दुबैको आ-आफ्नो गौरवपूर्ण स्वतन्त्र अस्तित्व छ । कुनै एक परम्पराले आफैले आफूलाई उँचा र अरूलाई नीच देखाउने काम परस्पर द्वेष, वैमनस्य वढाउने कारक हुन जान्छ । त्यसकारण भविष्यमा फेरि कहिल्यै पनि यसो नहोस् । दुवै परम्पराहरूलाई समान आदर र गौरवको भाव दिइयोस् ।
सत्कर्म द्वारा कुनै पनि ब्यक्तिले समाजमा उँचा स्थान प्राप्त गर्न सक्छ र दुष्कर्म द्वारा पतित हुन सक्छ । त्यसकारण हरेक ब्यक्ति सत्कर्म गरी काम, क्रोध, मद, मोह, लोभ, मात्सर्य, अहंकार इत्यादि अशुभ दुर्गुणहरूलाई निकाली आफूले आफैलाई समाजमा उच्च स्थानमा स्थापित गरेर सुख शान्तिको अनुभव गर्न सकियोस् ।
उपरोक्त तीन कुराहरूमा हामी दुवैको पूर्ण सहमती छ । भारतका सवै समुदायका मानिसहरू पारस्परिक मैत्री भाव राखोस् र छिमेकी देश पनि भारतका प्रति पूर्ण मैत्री भाव राखोस् ।
↑सन् १९९९ नोभम्वर १९, २० र २१ मा लुम्वनीमा एक सम्मेलन आयोजना गरिएको थियो । त्यस सम्मेलनमा विभिन्न सम्प्रदायका धार्मिक नेताहरूलाई समेत आमन्त्रन गरिएको थियो । त्यहिं सम्मेलनमा विपश्यनाचार्य सत्यनारायण गोयन्काज्युलाई पनि आमन्त्रण गरिएको थियो । यस सम्मेलनको मूल उद्देश्य हिन्दु बौद्ध एकता थियो भने यसका लागि आधार बुद्ध अवतार थियो । यस आधार सम्वन्धी आयोजकलाई सचेत गर्दै गोयन्काज्युले एक पत्र लेखेका थिए । त्यस पत्र प्राप्त भए पश्चात् उक्त सम्मेलनको मूल उद्देश्यको आधार नै फेरियो र सत्य तथ्यका आधारमा उक्त विश्वभातृत्व सम्वन्धी कार्यशाला सम्पन्न भयो । उक्त पत्रलाई पडोसी देशों के साथ स्नेह सम्वन्ध नामक पुस्तकका रूपमा नेपाल विपश्यना केन्द्र, काठमाडौंले प्रकाशित गरेको थियो ।
↑ २.०२.१गोयन्का सत्यनारायण, १९९९. पडोसी देशों के साथ स्नेह सम्वन्ध, नेपाल विपश्यना केन्द्र, काठमाडौं । [PDF डाउनलोड गर्नुस् ।]