लोसार
लोसार एक साल समाप्त भएर अर्को नयाँ सालको सुरुवात हुँदा मनाइने पर्व हो। लोसारको लो भनेको ‘वर्ष’ र सार भनेको ‘नयाँ’ हो। नेपालमा हाल तोद् लोसार, सोनाम लोसार, ग्याल्पो लोसार, तमु ल्होसार चार प्रकारका लोसारहरू मनाउने गरेको पाइन्छ। उक्त चार लोसारका नाम र मनाउने महिना फरक फरक रहे भए तापनि मनाउने विधिमा फरक छैन।
प्रकार
- तोद् लोसार (སྟོད་ལོ་གསར།) , तोद् लोसार मञ्जुश्री पात्रो अर्थात् भोट पात्रो अनुसार एघारौँ महिनाको पहिलो तिथिबाट सुरु हुन्छ । प्राकृतिक रूपमा सूर्य उत्तर दिशा फर्कने, रुख बिरुवाको पालुवा फेरिने र त्यस दिनदेखि रात छोटो र दिन लामो समेत हुने भएकोले यसलाई नयाँ रूपमा मनाएको देखिन्छ । तोद् लोसार नेपालमा विशेष गरी गुरुङ समुदाय र हुम्ला जुम्ला क्षेत्रका केही समुदायहरूले मनाउने गरिन्छ ।
- सोनाम लोसार (སོ་ནམ་ལོ་གསར།), सोनाम लोसार तो लोसारको ठिक एक महिनापछि मञ्जुश्री अर्थात् भोट पात्रो अनुसार बाह्रौँ महिनाको प्रतिपदाबाट सुरु हुन्छ । सोनाम पा अर्थात् किसानहरूले यो महिनाबाट खेतीपाती रोप्ने कार्य सुरु गर्ने भएको र ग्याल्पो लोसार मनाउने समयमा फुर्सद नहुने भएको हुनाले किसानहरूले यसै महिनामा लोसार पर्व मनाउने गरिन्छ । आठौँ शताब्दीमा भोट देशका धर्म राजा ठिसोङ देउचेनले संस्कृतिको विकास गर्ने क्रममा किसानहरूको समय अनुकूल लोसार मनाउने परम्पराको सुरुवात गराएको इतिहासमा पाइन्छ । नेपालमा तामाङ र ह्योल्मो समुदायले पनि सोनाम लोसार मनाउने गर्दछ ।
- ग्याल्पो लोसार (རྒྱལ་པོ་ལོ་གསར།), ग्याल्पो लोसार सोनाम लोसारको ठिक एक महिनापछि मञ्जुश्री अर्थात् भोट पात्रो अनुसार नयाँ वर्ष, पहिलो महिनाको प्रतिपदाबाट सुरु हुन्छ । यो लोसार राष्ट्रिय रूपमा मनाउने भएकोले ग्याल्पो लोसार अर्थात् राजकीय लोसार भनिएको हो । यो तिब्बती पहिलो बंश यारलुङ्गको उदय सँगै ञाड्रीक्षेम्पोको १२७ BCE ईशा पूर्व समय देखि शासन लिएको विजय उत्सवको रूपमा भोट पात्रोको नयाँ वर्ष प्रतिपदका दिन यो लोसार मनाउने सुरुवात भएको इतिहासमा पाइन्छ । अहिले पनि मङ्गोल परम्परा अनुसार नै मङ्गोल महिना (होर्दा) को प्रतिपदमा ग्याल्पो लोसार भन्ने प्रचलन रहेको छ । यो लोसार भोट देशको सबै प्रान्त र नेपालका शेर्पा लगयातका विभिन्न समुदायहरूले मनाउने गरेको पाइन्छ ।
- तमु ल्होसार तमु/गुरुङ्ग समुदायको महान चाड हो । यसलाई गुरुङ्ग समुदायको नयाँ बर्ष पनि भनिन्छ । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूका गुरुङ्ग समुदायमा पनि मनाइन्छ । तमु ल्होसारमा 'तमु' भनेको गुरुङ्ग वा तमू हो भने 'ल्होसार' भनेको नयाँ वर्ष हो । यो पर्व बिकम सम्बत पात्रोको पौष महिनाको १५ गते मनाइन्छ । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ साल सुरु भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्र अनुसार तमु ल्होसारको दिनममा तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
मनाउने विधि
भोट पात्रोको बाह्रौँ महिनाको कृष्णपक्ष चतुर्दशी (ङिशुगु) को दिन घर आँगनहरू साफा गरी बेलुका सबै परिवार एक साथ रहेर रमाइलो गर्दै नौ किसिमका खाद्य गेडागुडीहरू मिसाएर पकाएको गुथुक (थुक्पा) अर्थात् क्वाँटी खाइन्छ । गुथुक खाने क्रममा आँटाको डल्लोभित्र खुर्सानी, कोइला, घिउ, नुन, कागज आदि राखेर सबैलाई भाग पुग्ने गरी एक एक ओटा राखी दिन्छ । गुथुक खानु भन्दा पहिला त्यो डल्लो क्रमशः एक एक जनाले खोलेर देखाइछ र त्यसको अर्थ लगाउँदै हास खेल गरिन्छ । गुथुक खाइसकेपछि दिउँसो घर आँगन साफा गरिएको फोहोर मैलाहरू कुनै बाँकी नरहने गरी राति नै फाल्ने गर्दछ । गोन्पा तथा गाउँघरका प्रमुख स्थानहरूमा सामूहिक रूपमा गुथुक कार्यक्रम आयोजना गरी धर्म गुरुहरूबाट बिदाइ हुने सालको ग्रह दशाले नयाँ सालमा निरन्तरता नपाओस् र नयाँ सालमा सबैको ग्रह दशा शान्त भई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै विशेष पूजा गर्ने गरिन्छ ।
त्यसको बोली पल्ट औँसीका दिन लागेको लोसारको लागि विशेष गरी घरको बहिरा भित्र सजाइन्छ । घरको भित्ताहरूमा आष्ठमंगल, स्वस्तिक आदि चिन्हहरू कोर्ने गर्दछन् । लोसार पूजा तथा अतिथिहरूको लागि रोटी (खाप्से) पकाउनुको साथै विभिन्न किसिमका मिठाई, फलफूल र गेडागुडीहरू किनेर सजाउने गर्दछ । नयाँ सालको प्रतिपदको बिहान प्रातः काल धाराबाट पानी लिएर देवतालाई शुद्ध पानी, धूप र दीप चढाई आगामी वर्षहरूमा सबैको शुभमङ्गल होस् भनी प्रार्थना गर्दछन् । त्यसपछि विभिन्न चिजबिज हालेर बनाएको पीठोको परिकार (छेमार) र खाप्से खाने गर्दछन् । घरको आँगन र घरमाथि पञ्च रङ्गी ध्वजा पताक फरफराइ सबै एक साथ किकी सो सो ल्हा ग्यलो (सुख होस् सुख होस् देवताको जय होस्) भनी जयका प्रतीक सेतो पीठो अकासमा उडाएर रमाइलो गर्ने गरिन्छ । कुल देवताहरूलाई साङ सेरक्येमको पूजा गरी आआफ्नो धर्म गुरु, अभिभावकहरू र गोन्पा, चैत्यहरू भएको स्थानमा गएर आशीर्वाद लिन्छन् । त्यसैले यस दिनको लोसारलाई लामा लोसार भनिन्छ ।
दोस्रो दिन द्वितीय तिथिका दिन फेरी गोन्पा वा सार्वजनिक स्थलहरूमा जम्मा भई एक आपसमा टासी देलेग बन्दै शुभकामना आदानप्रदान गर्दै आफ्नो मौलिक भेष भूषामा मिठोमिठो खानेकुरा आदान प्रदान गरी लोसार मनाउने गर्छन् । साथै आआफ्नो गाउँ ठाउँका मान्यजनहरू कहाँ गई आशीर्वाद लिने गर्दछन् । त्यसैले यस दिन मनाउने लोसारलाई ग्याल्पो अर्थात् राजाको लोसार भनिन्छ ।
तेस्रो दिन तृतीय तिथिका दिन दीर्घायु र सबै प्रकारका जीवनमा आई पर्ने विघ्न वाधालाई हटाउनको लागि गोन्पा वा बौद्धको तीर्थ स्थानहरूमा गएर ध्वजा पताका आदि लगाउनुको साथै जय जय कार गर्दै सातु छर्दै खुसी मनाउँछन् । यस दिन मनाउने लोसारलाई (छ्योक्योङ) धर्मपालाको लोसार भनिन्छ ।
यसपछि पनि लगातार पूर्णिमासम्म आफन्त साथीभाइहरू कहाँ अवात जवात गर्ने क्रम जारी रहन्छ । यस प्रकार पूर्णिमापछि लोसारको समापन हुन्छ । मङ्गोल महिनाको प्रथम महिनाको प्रतिपदादेखि पूर्णिमासम्म बुद्धले अबौद्धहरूलाई प्रतिहार्य शक्तिद्वारा पराजित गरेको महत्त्वपूर्ण तिथि पनि पर्ने भएकोले बौद्धहरूको लागि यो महिना अति नै महत्त्वपूर्ण महिना हो ।