शाकुन्तल (महाकाव्य)

शाकुन्तल (महाकाव्य)
लेखकमहाकवी लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयसाहित्य
प्रकारमहाकाव्य
प्रकाशकसाझा प्रकाशन
आइएसबिएनIBSN 978-99933-2-518-X Parameter error in {isbnt}: Invalid ISBN.

शाकुन्तल लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित साझा प्रकाशनले बजारमा ल्याएको नेपाली भाषाको काव्य हो। []

महाकाव्य परिचय

महाकवि कालिदासको अभिज्ञान शाकुन्तलम् को कथानकलाई प्रमुख आधार मानी यो शाकुन्तल महाकाव्य रचना गरिएको हुनाले यसमा विश्व प्रसिद्ध संस्कृत साहित्यका महाकवि कालिदासलाई नेपाली सहात्यका महाकवि देवकोटाले पछ्याएको देखिन्छ । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक साहचर्य, मानव र प्रकृतिको मधुर मिलन प्रदर्शन गर्ने उद्देश्यले प्रस्तुत महाकाव्य लेखेको हुनुपर्दछ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित सर्वप्रथम मौलिक महाकाव्य हो । यसको कथावस्तु प्राचीन इतिहास प्रसिद्ध भए तापनि कवि कल्पनाले गर्दा यो मौलिक बन्न पुगेको देखिन्छ । २००२ सालमा पहिलो पल्ट प्रकाशित भएको यो महाकाव्य नेपाली महाकाव्यको मङ्गलाचरणका रूपमा आएको छ ।

संरचना

प्रस्तुत महाकाव्यमा जम्मा २४ सर्ग रहेका छन् । प्रत्येक सर्गमा मौलिकता र नवीनता झल्केको देख्न सकिन्छ । सर्गभरि एउटै छन्द र सर्गको अन्त्यमा छन्द बदल्नु पर्ने मसिनो नियमको पनि कतै कतै पालना भएको पाइन्छ ।

छन्दविधान

यो महाकाव्य छन्दको प्रयोगशाला र पाठशाला दुबै बन्न गएको देखिन्छ । भानुभक्तद्वारा नेपाली भाषा र साहित्यमा प्रतिष्ठापित एवम् नेपालीहरूले ज्यादै मन पराएको शार्दूलविक्रीडित छन्द (चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका)बाट महाकाव्यको श्रीगणेश गरेका देवकोटाले मालिनी, तोटक, भुजङ्गप्रयात, स्रग्विणी, इन्द्रवज्रा, वसन्ततिलका, अनुष्टुप्, शालिनी, स्रग्धरा, पृथ्वी, पञ्चचामर, वंशस्थ, रथोद्धता, द्रुतविलंवित, प्रहर्षिणी आदि संस्कृतका विभिन्न वार्णिक छन्दहरूलाई यस महाकाव्यमा उपयोग गरिएको छ । यति हुँदा हुँदै पनि भावलाई सर्वाधिक महत्त्व दिने महाकवि देवकोटा छन्दको बन्धनबाट सर्वथा उन्मुक्त देखिन्छन् ।

अलङ्कार विधान

मूलतः शब्दालङ्कारमा रमाउने देवकोटा अर्थालङ्कारको प्रयोग गर्न पनि पछि परेका छैनन् । अनुप्रास, श्लेष, उपमा, उत्प्रेक्षा आदिको सौन्दर्यले काव्यको शोभा बढाएको छ । यमक अलङ्कारको प्रयोगमा देवकोटा कतैकतै सोमनाथलेखनाथ भन्दा पनि सशक्त देखिन्छन् । हेरौ एउटा उदाहरण –

सुमनका मनका रस सारका ।

अधरका कलिला धरका थिए ।।

महक भै महको हकी भनी ।

भुनभुनाउँदथ्यो भँवरो बरो ।। १२।५३

लाक्षणिकता

यसमा पूर्वीय महाकाव्य मान्यताका अधिकांश लक्षणहरू पाइन्छन् । शास्त्रीय छन्दमा कविताको रचना हुनु, कथानक पौराणिक हुनु, शृङ्गार रस प्रधान हुनु, नायक प्रतापी क्षत्रीय राजा दुष्यन्त धीरोदात्त नभएपनि धीरललित प्रकृतिको हुनु, नायिका शकुन्तला स्वकीया मुग्धा हुनु प्राचीन परम्परा हो । त्यसैगरी समुद्र, वन, ऋतुहरू, साँझ, बिहान, सूर्य, चन्द्र, शिकार आदिको वर्णनमा पनि प्राचीन परम्परा छाडिएको छैन ।

प्रकृतिचित्रण

देवकोटा प्रकृतिप्रेमी हुन् । उनी प्रकृतिको सुन्दर रूपका साथै भयानक रूपको पनि चित्रण गर्न सिद्धहस्त छन् । मेनकाको आगमनमा कविको कल्पना यसरी दौडिएको देखिन्छ –

सुन बादल भो सुन सूर्य भए ।

सुरद्वार खुल्यो सुनको नभमा ।।

सुनको भव भो सुनको जलले ।

सुन तार बजाउँछ कल्कलले ।। ३।१

सामाजिक आदर्श

प्रस्तुत महाकाव्यमा देवकोटाले परोक्ष शैलीमा सामाजिक आदर्शको सूचना दिएका छन् । राजा दुष्यन्तले शकुन्तलालाई गरेको तिरस्कार देखाएर देवकोटाले आफ्नो देशका शासकलाई सतर्क गराएका छन् । उनले किसानको नयाँ प्रसङ्ग जोडी सरलता र अतिथि सत्कार गर्ने नेपाली जातीय परम्पराको राम्रो चित्रण गरेका छन् । दुष्यन्त र शकुन्तलाको वादविवाद, शिष्य शार्ङ्गरव र दुष्यन्तको भनाभन, विश्वामित्रको तपोभङ्ग गर्न उद्यत स्वर्गलोक र त्यहाँको विलासीपन, शकुन्तलाको सरलता, शकुन्तलालाई घर पठाउने क्रममा कण्वले दिएको मार्मिक अभिव्यक्ति आदि सबै जसो प्रसङ्गभित्र नेपाली सामाजिकता झल्किएको छ ।

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस