नोबेल पुरस्कार
नोबेल पुरस्कार | |
---|---|
पुरस्कृत (कारण) | उत्कृष्ट योगदान गरेबापत भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र |
देश | स्विडेन नर्वे (शान्ति पुरस्कार मात्रै) |
प्रस्तुतकर्ता | स्विडिस एकेडेमी नोबेल समितिको शाही स्वेडिस एकेडमी नोबेल समितिको कारोलिन्स्का संस्थान नोरवेगियन नोबेल समिति |
प्रथम पुरस्कृत | १९०१ १९६९(अर्थशास्त्रतर्फ) |
वेबसाइट | नोबेल पुरस्कार समिति |
नोबेल पुरस्कारको स्थापना सन् १८९५ मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । नोबेल फाउन्डेसन द्वारा स्विडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कारको रूपमा प्रमाण-पत्रको साथमा १२,००,०००(बाह्र लाख अमेरिकी डलर) प्रदान गरिन्छ । अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्त्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाईयो । उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक वर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ । यो सम्पत्ति स्वीडिस बैङ्कमा राखिएको र ब्याजले नोबेल फाउन्डेसनद्वारा प्रत्येक वर्ष शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ । नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युना र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो।
शान्तितर्फको पुरस्कार ओस्लो, नर्वेबाट र अन्य पुरस्कारहरु स्टोकहोल्म, स्विडेनबाट प्रदान गरिन्छ । [१]
सन्दर्भ सामग्री
- ↑ "नोबेल पुरस्कार", अन्तिम पहुँच नोभेम्बर २०१३।
यी पनि हेर्नुहोस
- २०१० मा प्रदान गरिएका नोबेल पुरस्कार
- २०११ मा प्रदान गरिएका नोबेल पुरस्कार
- २०१३ मा प्रदान गरिएका नोबेल पुरस्कार
- एबेल पुरस्कार
- २०१४ मा प्रदान गरिएका नोबेल पुरस्कार
- इग नोबेल पुरस्कार